logo

चौथो नेपाल पूर्वाधार सम्मेलन सम्पन्न आर्थिक विकासको मेरुदण्ड पूर्वाधार ।  


चौथो नेपाल पूर्वाधार सम्मेलन शुक्रबार सम्पन्न भएको छ । नेपाल उद्योग परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको पूर्वाधार सम्मेलनको समापन समारोहमा सञ्चार सूचना तथा प्रविधी मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दश वर्षमा समृद्ध नेपाल बनाउने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले २०१५ सालमा विपी कोइरालाले देखेको सपना अनुसार सबै नागरिकले महसुस गर्ने गरी पूर्वाधार निर्माण हुनुपर्ने बताउनुभयो ।  
 

दोस्रो पटक निर्वाचन सम्पन्न भएर तिनै तहका सरकार निर्वाचित भएसँगै राजनीतिक समस्या समाधान हुने र आगामी निर्वाचनबाट आउने सरकारको प्राथमिकता आर्थिक विकासमा पर्ने मन्त्री कार्कीको भनाई छ । १० वर्षपछि सम्पन्न देशका नागरिक हुने गरी सबैले आआफ्नो ठाउँबाट काम गर्नुपर्छ । हामीले पूर्वाधार निर्माण गर्न कुल ग्राहस्थ उत्पादनको ९ प्रतिशतसम्म लगानी गर्नु पर्नेछ’ कार्कीले भन्नुभयो, ‘सरकार एक्लैले पूर्वाधारका क्षेत्रमा लगानी गर्न सक्दैन । निजी क्षेत्रलाई पूर्वाधारमा लगानी गर्न वातावरण बनाउन हामी तयार छौं ।’ निजी क्षेत्रको सक्रिय सहभागिता बिना नेपालमा पूर्वाधार विकास हुन नसक्ने मन्त्री कार्कीले बताउनुभयो ।  ‘तपाईंहरु सबैलाई पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्न आग्रह छ,’ कार्कीले सम्मेलनमा सहभागी लगानीकर्तालाई भन्नुभयो, ‘पूर्वाधार निर्माण गर्नु मात्रै उपलब्धी होइन् । निर्माण भएका पूर्वाधारलाई पूर्ण उपभोग समेत गर्न सक्नुपर्छ ।’

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले देश विकास गर्न राजनीतिक नेतृत्व र कर्मचारीको सोच परिर्वतन हुनुपर्ने बताउनुभयो । मैले नीति बनाउने ठाउँमा पनि काम गरे । व्यवसाय पनि गरे । नेपाल विकास हुन धेरै समय लाग्दैन्,’ श्रेष्ठले भन्नुभयो, ‘हामीले आर्थिक विकास गर्न कयौं नीति र कानून संसोधन गर्नु पर्नेछ । हामी त्यहीँ दिशामा लागेका छौं ।’देश भित्र रोजगारी सिर्जना गर्न समेत पूर्वाधार र उद्योगका क्षेत्रमा लगानी बढाउन आवश्यक भएको भन्दै मन्त्री श्रेष्ठले कर्मचारी र राजनीतिक नेतृत्वको सोच परिर्वतन भए देश सजिलै विकास हुन सक्ने बताउनुभयो । ‘समृद्धिको लागि सकारात्मक वातावरण बनाउनुपर्छ । सरकार धनी भयो भने ठूला पूर्वाधारमा लगानी गर्न स्रोत जुटाउन सकिन्छ,’ श्रेष्ठले भन्नुभयो, ‘तर, सरकार एक्लैले केही गर्न सक्दैन् । सरकार निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न तयार छ ।’
 
समापन समारोहमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले अघिल्लो तीन संकरणको कार्यक्रम जस्तै यो कार्यक्रम पनि सफल भएको बताउनुभयो । ‘ठूला पूर्वाधार कसरी निर्माण गर्ने, औद्योगिक पूर्वाधार निर्माण गरेर व्यवसाय सञ्चालनको लागत कसरी घटाउने भन्ने विषयमा सघन छलफल भएको छ,’ अग्रवालले भन्नुभयो, ‘यस सम्मेलनमा कोरोना महामारीपछि बदलिएको अवस्थामा कस्ता पूर्वाधार निर्माण गर्ने भन्ने विषयमा कयौं सुझाव आएका छन् । हामीहरु ती सम्पूर्ण सुझावलाई नियामक निकायसम्म लैजान र निजी क्षेत्रको तर्फबाट गर्नुपर्ने काम पुरा गर्न प्रतिवद्ध छौं ।’
 
पिडब्लुसी इण्डियाका कार्यकारी निर्देशक निदिस नायरले दुई दिने सम्मेलनमा भएका छलफलको विषयमा प्रस्तुती दिनुभएको थियो । ‘पूर्वाधार निर्माणका गर्न दीर्घकालिन वित्तीय स्रोत कसरी जुटाउने भन्ने विषयमा समेत बिभिन्न दृष्टीकोण आएका छन्,’ नायरले भन्नुभयो, ‘यो कार्यक्रमले नेपालमा कस्तो पूर्वाधार आवश्यक छ र वित्तीय स्रोत कसरी जुटाउने भन्ने विषयमा कयौं सुझाव दिएको छ । सम्मेलनमा आएकाले सुझावले नियामक निकायलाई विकास निर्माणका क्षेत्रमा देखिएका समस्या समाधान गर्न समेत सहयोग गर्ने अपेक्षा छ ।’
 
समापन समारोहमा सांसद विनोद चौधरीले पछिल्लो समय पूर्वाधार निर्माणका क्षेत्रमा कयौं काम हुनु सकारात्मक भए पनि पर्याप्त पूर्वाधार निर्माण हुन नसकेको बताउनुभयो । निजी क्षेत्रले पूर्वाधारमा लगानी गर्न दिगो वित्तीय स्रोत आवश्यक गर्ने उहाँले बताउनुभयो । ‘समयमा आयोजना सम्पन्न गर्न नसक्नु नै नेपालको ठूलो समस्या हो । नेपालमा मात्रै होइन भारतमा पनि समयमा आयोजना नबन्ने समस्या थियो’, चौधरीले भन्नुभयो, ‘सहि व्यक्तिलाई सहि ठाउँमा राख्दा भारतमा नितिन गडगरीले समयमा पूर्वाधार निर्माण नहुने समस्या समाधान गरेका छन् । नेपालमा पनि समयमा पूर्वाधार निर्माण नहुने समस्यामा सुधार हुन जरुरी छ ।’उहाँले नेपालमा ठेक्का लिन आउने विदेशी निर्माण व्यवसायी कम्पनीबाट नेपाली निर्माण व्यवसायीको ज्ञान र सिप बढाउनुपर्ने बताउनुभयो । नेपालमा पूर्वाधार निर्माणमा लगानी गर्ने ठूलो अवसर भएकाले नेपालको पूर्वाधार क्षेत्रमा लगानी बढाउन विभिन्न देशमा मार्केटिङ गर्न परिसंघलाई आग्रह गर्नुभयो । 

नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्र राज पाण्डेले सम्मेलनमा भएको छलफलले आगामी दिनमा सरकारलाई उपयुक्त नीति लिन सहयोग गर्ने बताउनुभयो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले पूर्वाधार विकासका लागि सरकार र निजी क्षेत्र बीच सहकार्य हुन जरुरी रहेको बताउनुभयो । सिग्देलले भन्नुभयो, ‘हामी क्लिन, ग्रीन र दिगो पूर्वाधार निर्माण कसरी गर्ने भन्ने विषयमा सम्मेलबाट आएका सुझावलाई कार्यान्वयन गर्नेछौं ।’
 

सम्मेलनमा ठूला पूर्वाधार निर्माण, अन्तर प्रदेश पूर्वाधार निर्माण, शहरी पूर्वाधार निर्माण, रिजनल कनेक्टिभिटी, डिजीटल पूर्वाधार निर्माण, हरित पूर्वाधारलगायतका विषयमा विभिन्न कोणबाट छलफल भएको थियो ।

उत्कृष्ट आइडिया पुरस्कृत

समापन समारोहमा परिसंघले आयोजना गरेका स्टार्टअप आइडिया प्रतिस्पर्धाको विजेतालाई पुरस्कार प्रदान गरेको थियो । ट्राफिक ट्याकिङ प्रणाली बनाउनुपर्ने विषयमा आइडिया प्रस्तुत गरेका कपिल अधिकारी प्रथम भए । उनले १ लाख ५० रुपैयाँ पुरस्कार पाए । यस्तै, धान रोप्ने मेसिन बनाउने आइडिया प्रस्तुत रहेका सौरभ सिंह चौधरी दोस्रो भए । उनले १ लाख रुपैयाँ नगद पुरस्कार पाए भने हाइवे र एडप्क्टिक ट्राफिक म्यानेजमेन्टको आइडिया प्रस्तुत गरेका जोशेप श्रेष्ठ तेस्रो भएका थिए । उनले ५० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरे ।
 
कार्यक्रममा यात्री मोटरसाइकल बनाउने इन्जीनियर असिम पाण्डेलाई सम्मान गरिएको थियो ।

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP