logo

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार विकासमा पर्याप्त लगानी आवश्यक रहेकोमा जोड दिइएको छ ।

 

काठमाडौं । मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार विकासमा पर्याप्त लगानी आवश्यक रहेकोमा जोड दिइएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले बिहीबार आयोजना गरेको चौंथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन २०२२ को उद्घाटन सत्रका वक्ताहरुले पूर्वाधार विकासबाटै नेपालको आर्थिक समृद्धि सम्भव रहेको बताएका हुन् । यसका लागि सार्वजनिक निजी साझेदारीलाई थप प्रभावकारी र परिणामुखी बनाउनुपर्ने उनीहरुको भनाइ थियो । 

सम्मेलनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ले आर्थिक समृद्धिका लागि निजी क्षेत्र महत्वपूर्ण साझेदार भएको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई अनुकूल वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देशले आर्थिक विकास र समृद्धि हासिल गर्न नसक्ने उहाँले बताउनुभयो । ‘त्यहिं बुझेरै हामीले संविधान बनाउँदा र राजनीतिक घोषणापत्रमा पनि यस क्षेत्रको भूमिकालाई महत्व दिएका छौं’ उहाँले भन्नुभयो ।  

पछिल्लो समय सरकार र निजी क्षेत्रबीच हार्दिक सम्बन्ध बनेको र यसमा नेपाल उद्योग परिसंघको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले सरकारले निजी क्षेत्र र निजी क्षेत्रले सरकारलाई हेर्ने सोंचमा परिवर्तन आवश्यक रहेको बताउनुभयो । मुलुकमा लगानीको वातावरण बनाउन राज्यको दायित्व बाँकी रहेको भन्दै अधुरा कामहरु अघि बढाइने बताउनुभयो । निजी क्षेत्रलाई अझ विश्वासमा लिने र विदेशी लगानी वृद्धि गर्न राज्य गम्भिर हुन थप आवश्यक रहेको उहाँको भनाइ थियो ।

पूर्वाधार विकासलाई अब भौतिक विकासका रुपमा मात्र नहेरी डिजिटल विकासमा पनि केन्द्रित गर्नुपर्ने उहाँको सुझाव थियो । 

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले यसअघिका तीन वटा नेपाल पूर्वाधार सम्मेलनको उपलब्धीहरुले परिसंघलाई थप हौसला मिलेको बताउनुभयो । परिसंघले सन् २०१४ देखिको पूर्वाधार सम्मेलनले अर्थतन्त्र बलियो बनाउन पूर्वाधारको महत्व बझाउने काम गरेको उहाँले बताउनुभयो । परिसंघले पूर्वाधार विकासमा सार्वजनिक निजी साझेदारीको अवधारणा अघि सार्दै आएकोमा त्यसकै परिणामस्वरुप नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को स्थापना भएको उहाँले बताउनुभयो । पूर्वाधार विकासमा सार्वजनिक निजी साझेदारीको आवश्यकतालाई थप सशक्त बनाउन सक्नु पूर्वाधार सम्मेलनको महत्वपूर्ण पलह भएको अध्यक्ष अग्रवालले बताउनुभयो । 

पर्यटन प्रवद्र्धनका लागि अन्तरदेशीय कनेक्टिभिटी र डिजिटल क्षेत्रमा रहेको सम्भावना उपयोगमा जोड दिएका आर्थिक समृद्धि हासिल गर्न सकिने उहाँले बताउनुभयो । 

एसियाली विकास बैंक (एडीबी)का निजी क्षेत्र सञ्चालन तथा सार्वजनिक–निजी साझेदारीका उपाध्यक्ष अशोक लभासाले पूर्वाधार विकास र आर्थिक वृद्धिका लागि पूर्वाधार सम्मेलन महत्वपूर्ण भएको बताउनुभयो । पूर्वाधार क्षेत्रले सिर्जना गर्ने अवसरबाट नेपालले धेरै लाभ लिन सक्ने उहाँको भनाई थियो । त्यसैगरी उहाँले एडीबीले पनि नेपालको पूर्वाधार विकासलाई प्राथमिकता दिएर सहकार्य गरिरहेको बताउनुभयो । 

परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले पूर्वाधार विकासका लागि सरकारले उपयुक्त नीति निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । अहिले राजनीतिक दलको ध्यान आगामी निर्वाचनमा केन्द्रित भए पनि चुनाव पछि आर्थिक विकासमा केन्द्रित हुन आग्रह गर्नुभयो । 

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण नेपालको मात्र नभई विश्व अर्थतन्त्रमा समेत समस्या परेको बताउनुभयो । देशको दिगो विकासमा पूर्वाधारको अहम् भूमिका रहेको र चौथो शिखर सम्मेलनले त्यही तथ्यलाई जोड दिएको स्पष्ट पार्नुभयो । पूर्वाधारमा थप लगानीको खाँचो रहेकोले निजी क्षेत्रलाई थप लगानी गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले प्राकृतिक सौन्दर्य र साँस्कृतिक विविधतायुक्त नेपालसँग धेरै अवसर रहेको बताउनुभयो । उहाँले ती अवसरहरुको सदुपयोग गर्न पूर्वाधार विकासको आवश्यकता रहेको बताउनुभयो । सरकारले राखेको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न पनि पूर्वाधारमा लगानी आवश्यक रहेको उहाँको सुझाव थियो । 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP