logo

नेपाल पूर्वाधार सम्मेलन: सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक ।

 

देशमा सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले विहिबार आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन  २०२२ को डिजिटल पूर्वाधार तथा प्रविधि सम्बन्धि सत्रमा सहभागी सरोकारवालाहरूले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्तिको उत्पादनमा जोड दिएका हुन् ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सञ्चार मन्त्रालयले शैक्षिक क्षेत्रको माध्यमबाट सूचना प्रविधि क्षेत्रको लागि दक्ष जनशक्ति उत्पादन गर्न पहल गरिरहेको बताए । आईटी कोर्समा कोटा प्रणालीका कारण धेरे विद्यार्थीले चाहेर पनि पढ्न नसकेको र यसले गर्दा दक्ष जनशक्ति उत्पादनमा प्रभाव परेको भन्दै यो विवेद हटाउन सञ्चार मन्त्रालयले पहल गरेको उनले बताए ।

"प्रविधिसँग सम्बन्धित जनशक्ति हरेक क्षेत्रमा आवश्यक छ । भोलीको दिनमा यसको माग थप बढ्दै जानेछ । यसको लागि प्राविधिक जनशक्ति उत्पादन गर्नु पनि उत्तिकै आवश्यक छ," उनले भने, "यस शिक्षाको क्षेत्रबाट नै सम्बोधन गर्ने हो ।" यसको लागि सञ्चार मन्त्रालयले शिक्षा मन्त्रालयसँग छलफल गरिरहेको उनले बताए । साथै नेपालले फिनटेक र डिजिटल अर्थतन्त्रको क्षेत्रमा पनि विस्तारै सुधार गर्दै गइरहेको उनले बताए । 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालको सूचना प्रविधि पूर्वाधारको पहुँच र विकासको विद्यमान अवस्थितिको विषयमा जानकारी दिएका थिए । त्यसैगरी पीडब्लुसी भारतका प्रविधि परामर्शदाता सन्तोष मिस्र र अजरबैजनका राजदुत माननिय अश्रफ शिखालिएभले आ-आफ्नो देशमा भएको प्रविधि पूर्वाधार विकासको विषयमा जानकारी दिएका थिए ।

विश्व बैंकका वरिष्ठ डिजिटल विकास विज्ञ सिद्दार्थ राजाले प्रविधि क्षेत्रमा ठूलो छलांग मार्नको लागि सार्वजनिक र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताए । "यो क्षेत्रमा निजी र सार्वजनिक क्षेत्र मिलेर काम गरेको धेरै कम देखिन्छ । त्यसैले यो अन्तर हटाउनु जरुरी छ," उनले भने, "नेपालले ध्यान दिनुपर्ने विशेष क्षेत्र भनेको ब्रोडब्यान्ड कनेक्टिभिटी, डेटा इकोनोमी र जनशक्ति उत्पादन हुन् ।" त्यस्तै उनले नेपालमा डेटा सेन्टरहरू स्थापना गर्नको लागि बातावरण सहज बनाउनुपर्ने पनि बताए ।

किम्बु टेकका संस्थापक तथा सीईओ कार्विका थापाले आईटीको क्षेत्रमा दक्ष जनशक्ति निकै कम भएको र यसको लागि निजी क्षेत्रहरूले मात्र नभइ सरकारले पनि पहल गर्नुपर्ने बताइन् । "प्रविधिको क्षेत्रमा अहिले विद्यमान सबैभन्दा ठूलो समस्या भनेको नै दक्ष जनशक्तिको आपूर्ती हो । कामको अवसर धेरै छ तर यहाँ काम गर्ने मानिस कम हुँदा समस्या आएको छ," उनले भनिन्, "भोलीको दिनमा यो अवसर झनै ठूलो भएर जानेछ । आउने भविष्यको मागलाई सम्झेर पनि हामीले आज देखि नै यो क्षेत्रमा काम सुरु गर्न आवश्यक छ ।"

 

 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP