logo

सुरक्षित हवाई सेवाको प्रत्याभूतिका लागि चुस्त नियमन तथा प्रभावकारी अनुगमन आवश्यक

मिति: २०७९/१०/०७ 

सुरक्षित हवाई सेवाको प्रत्याभूतिका लागि चुस्त नियमन तथा प्रभावकारी अनुगमन आवश्यक

नेपालको हवाई क्षेत्रमा नियमित सेवा प्रवाह गर्दै आएको यती एयरलाइन्सको एटीआर जहाजको गत माघ १ गते पोखरामा भएको दुर्घटनाले नेपाल उद्योग परिसंघ परिवारलाई स्तब्ध तुल्याएको छ । उक्त दुर्घटनाबाट ज्यान गुमाएका सम्पूर्ण स्वदेशी तथा विदेशी यात्रहुरुका साथै चालकदलका सदस्यहरुप्रति परिसंघ परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै, मृतकका परिवारजनहरुलाई यस अपूर्व चोटको घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनि हामी प्रार्थना गर्दछौं ।

यो हवाई दुर्घटनाबाट पुगेको जनधनको क्षती अपुरणीय छ । यससँगै यसले कोभिडकालपछि बल्लतल्ल पुनरागमन हुन थालेको नेपाली पर्यटन तथा उड्डयन क्षेत्रमा पनि असर पुर्याउन सक्नेतर्फ परिसंघको पर्यटन समितिको चिन्ता छ । विगतमा पनि नेपालमा भएका आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई दुर्घटनापछि त्यसको नकारात्मक असर हाम्रो पर्यटन उद्योगमा देखिएको हुँदा  यस्ता दुर्घटनाहरुले देशको दिगो समृद्धिका लागि बलियो आधारका रुपमा स्थापित हुँदै गरेको पर्यटन क्षेत्रलाई सुस्त बनाउने जोखिम पनि उत्तिकै रहन्छ । 

यसर्थ, यसो हुन नदिन तत्कालका लागि दुर्घटनाको अध्ययन गर्न गठित छानबिन तथा जाँच आयोगले वस्तुनिष्ठ, वैज्ञानिक, पारदर्शी र निष्पक्ष अध्ययन गरेर सोको प्रतिवेदन शीघ्र तयार पारी तथ्य सार्वजनिक गर्दै सरकारले नेपालको हवाई सुरक्षातर्फ आफू सजग र गम्भीर रहेको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा प्रवाह गर्नु पर्दछ । यसको थप विश्वसनीयताका लागि दुर्घटनाको छानबिनमा अन्तरराष्ट्रिय विज्ञहरुको संलग्नता हुँदा राम्रो हुने हाम्रो सुझाव छ ।

संकटका बेला समन्वय र संचार अत्यन्तै महत्त्वपूर्ण रहने हुँदा राज्यको निकायबाट निजीक्षेत्रको लगानी संरक्षण हुने र गन्तव्यको छवी जोगिने गरी आवश्यक कदमहरु चालिनु पर्दछ भन्ने परिसंघको धारणा छ । चुस्त नियमन तथा प्रभावकारी अनुगमन लगायतका आवश्यक उपायहरुको अबलम्बनसहित सुरक्षित हवाई सेवाको प्रत्याभूतिका लागि आवश्यक ठोस कार्य गर्न पनि परिसंघको पर्यटन समिति सरकारलाई आग्रह गर्न चाहन्छ । 

पर्यटन नेपालीहरुको अर्थतन्त्रकै एक मौलिक प्रतिस्पर्धात्मक क्षमता र उच्च सम्भावना भएको क्षेत्र हो । एक ठाँउबाट अर्को ठाँउमा यात्रा गर्दा गरिने गतिविधिबाट चलायमान हुने अर्थतन्त्र हो पर्यटन । करिब ८० प्रतिशत पर्यटक हवाई मार्गबाट यात्रा गर्ने र देशभित्रका सुन्दर तथा दुर्गम गन्तव्यहरुसम्मको यात्रा पनि अधिकांशरुपमा हवाई माध्यमबाटै हुने गरेको सन्दर्भमा सुरक्षित, भरपर्दो र विश्वसनीय हवाई सेवाको सुनिश्चितता आजको प्रमुख आवश्यक्ता हो । यसैले यसमा दृढताकासाथ सुधार ल्याउन अत्यन्त जरुरी छ । 

साथै, पछिल्ला केही दिनयता हवाई दुर्घटनासँग जोडेर सामाजिक सञ्जालहरुमा भ्रम सिर्जना गर्ने अपुष्ट सामग्रीहरुसमेत भाइरल भैरहेको र कतिपय विदेशी संचार माध्यमले समेत तिनलाई सन्दर्भ मान्दा देशको साखमा नै आँच पुर्याउने जोखिम देखिएकाले सामाजिक सञ्जालमा यस्ता सामग्रीको प्रचारप्रसारमा निगरानी तथा नियन्त्रणका लागि पनि सरकारको सम्बन्धित निकायको ध्यानाकर्षणका लागि आग्रह गर्दछौं । नागरिकस्तरबाट पनि सकंटको समयमा थप जिम्मेवार हुनपर्ने दायित्वबोध गर्दै सामाजिक सञ्जाल प्रयोग गर्दा त्यस्ता सामग्रीहरुको तथ्य र वास्तविकता सुनिश्चित गरेर मात्र विश्वास गर्न हामी अनुरोध गर्दछौं । धन्यवाद !

 
 

 

 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP